Ultimate magazine theme for WordPress.

स्थानीय निकाय पुनःसंरचना प्रतिवेदन मधेसवादी दलद्धारा अस्वीकार

65

काठमाण्डौं, पुस २५  : नयाँ स्थानीय संरचना प्रतिवेदन जनसंख्या र भूगोलको आधारमा नभएको भन्दै तराई मधेसकेन्द्रित दलहरुले अस्वीकार गर्ने चेतावनी दिएका छन्। मधेसकेन्द्रित एउटा मुख्य दल तराईमधेश लोकतान्त्रिक पार्टीले स्थानीय तहसम्बन्धी प्रतिवेदन स्वीकार नगर्ने सार्वजनिक धारणा नै दिएको छ। सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले जनसंख्या र भूगोल दुबै आधारमा स्थानीय संरचना प्रस्तावित नभएको हुँदा आफूहरुले विरोध गरेको बताए।

मधेसी मोर्चाभित्रको प्रमुख घटक तमलोपाका अध्यक्ष ठाकुरले संघीय व्यवस्थाको मर्मविपरीत स्थानीय निकाय संरचना बनाउन लागिएको टिप्पणी गरे। ‘संघीय व्यवस्थामा दुई वटा तह हुन्छन्, केन्द्रीय र प्रादेशिक, तर यहाँ तीन तह बनाइयो,’ उनले भने, ‘हामीलाई चित्त बुझेको छैन।’

आलोचना र विरोध आउने आशंका गर्दै सरकारले स्थानीय निकाय संरचना प्रतिवेदन बुझ्न आलटाल गरिरहेको थियो। सरकारले नै प्रतिवेदन नबुझेको भन्दै सार्वजनिक रुपमा आवाज उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिवेदन बुझेका थिए।

यता सरकारले भने प्रतिवेदन मन्त्रिपरिषदबाट पारित गर्नुअघि असन्तुष्ट दलहरुको सहमति खोजिने जनाएको छ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले असन्तुष्ट मधेसवादी दलहरुसित छलफल गरी प्रतिवेदन अघि बढाउने बताए। ‘विरोधका आवाज संविधानको दायराभित्र उठून् भन्ने सरकारको धारणा हो,’उनले भने।

सरकारले संवैधानिक व्यवस्थाअनुसार नयाँ स्थानीय तह निर्धारण आयोग गठन गरेको थियो। आयोगको प्रतिवेदनका आधारमा स्थानीय निकाय पुनःसंरचना गर्ने सरकारी तयारी छ। तर, प्रतिवेदनको विषयमा यस्तो विरोध आएपछि तत्काल कार्यान्वयनमा आउन नसक्ने देखिएको छ।

Leave A Reply

Your email address will not be published.