Ultimate magazine theme for WordPress.

सवा खर्ब मूल्य बराबरको धान उत्पादन

125

बिरगंज सिटी,पुष १८:चालू आर्थिक वर्ष २०७३-०७४ मा १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको छ।

कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा महत्वपूर्ण योगदान पुर्याउँदै आएको धानको उत्पादन गत आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा २१ दशमलव ६६ प्रतिशतले वृद्धि भएको कृषि विकास मन्त्रालयले निकालेको तथ्यांकले देखाएको छ।

मन्त्रालयले निकालेको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ५२ लाख ३० हजार टन धान उत्पादन भएको हो। सरकारले धानको न्यूनतम प्रतिकेजी मूल्य २१ रुपैयाँ ४५ पैसा तोकेको छ। सोही मूल्यलाई आधार मान्दा १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको हो।

मन्त्रालयले निकालेको धान मकै र कोदोको उत्पादन झण्डै दुइ खर्ब रुपैयाँ बराबर रहेको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले नेपालखबरलाई जानकारी दिए। ‘धानको उत्पादन बढ्नासाथ जीडीपीमा सकरात्मक असर पर्छ,’ उनले भने, ‘यो वर्ष धानको उत्पादन २१ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी अन्य खाद्यान्नको उत्पादन पनि बढेको हो।’

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ५ अर्ब २३ करोड केजी धान उत्पादन भएको छ। ५२ लाख ३० हजार टन उत्पादनलाई केजीमा रुपान्तरण गर्दा यति परिणाम आएको हो।

त्यसैगरी, २ अर्ब २५ करोड रुपैयाँ बराबरको मकै उत्पादन भएको छ। यसलाई रकममा ६४ अर्ब ८५ करोड हुन आउँछ। ३ करोड २० लाख केजी कोदो उत्पादन भएको छ। यो भनेको ४ अर्ब ८३ करोड रुपैयाँ बराबर हो।

अनुकूल बर्षा, समयमा रोपाई हुनु, रासायनिक मलको सहज उपलब्धता, उन्नत विउका सहज उपलब्धता लगायतका कारण उत्पादन बढेको मन्त्रालयको भनाइ छ।

तराईमा साबित्री, बिन्देश्वरी, राधा ४ र १२, मध्य पहाडमा खुमल ४, १०, ११ तथा उच्च पहाडमा चन्दननाथ आदिको उत्पादकत्व दोब्बर रहेको र सिफारिस गरिएका धानका यी जातहरुले ढाकेको क्षेत्रफल ९० प्रतिशत भन्दा पनि बढि रहेको कारण धान उत्पादन बढेको हो।

विगतका २७ बर्षलाई बराबर तीन खन्डमा विभाजन गरी विश्लेषण गर्दा पहिलो ९ बर्षिय खन्डमा औषत धानको उत्पादन ३३ लाख टन थियो सोही उत्पादन मध्य खन्डमा आईपुग्दा ४१ लाख टन र पछिल्लो खन्डमा ४६ लाख टन रहन आएको छ। देशको धान खेती हुने कुल क्षेत्रफल समेत यसबर्ष करिब १ लाख ८९ हजार हेक्टर पुगेको छ। जुन गतबर्ष भन्दा करिब १४ प्रतिशत बढी हो।

उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्नबाली मकैको उत्पादन यसवर्ष गत वर्षको २२ लाख ३१ हजार टनबाट बढेर २२ लाख ५९ हजार टन उत्पादन हुने प्रारम्भिक अनुमान रहेको छ। यसवर्ष यसको क्षेत्रफलमा समेत सामान्य बृद्धि भई अर्थात ८ लाख ९७ हजार हेक्टर कायम हुने अनुमान रहेको छ। हिउँदे तथा बसन्ते मकैको क्षेत्रफल बढेको तथा उन्नत जात प्रयोगका कारण लगायत कारणले समग्र मकैको उत्पादनमा बृद्धि भएको हो।

चालु आ.व.मा कोदोको उत्पादन करिब १ प्रतिशतले बढेर ३ लाख ६ हजार टन रहने प्रारम्भिक अनुमान छ। कोदो बालिमा उन्नत बिउ, मल जस्ता प्रबिधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा खासै बृद्धि हुन नसकेको मन्त्रालयले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.