मुम्बइ(एजेन्सी) : पूर्वपोर्नस्टार सनी लियोनले आफूलाई आइटम डान्सको अर्थ थाहा नभएको बताएकी छिन् ।
शाहरुख खानको ‘रइस’ फिल्ममा ‘लैला मै लैला’ बोलको आइटम गीतमा डान्स गरेकी सनीले आफूले हरेक गीतलाई उत्तिकै सम्मानका साथ हेर्ने भएकाले आइटम भनेर छुट्टै रूपमा नबुझेको दाबी गरेकी छिन् ।
‘पहिला–पहिलाका फिल्ममा पनि त यस्ता सानदार गीत हुने गर्थे,’ उनले भनेकी छिन्, ‘केलाई भनिन्छ आइटम, म त बुझ्दिनँ ।’ उनले फिल्मको कथालाई अघि बढाउन यस्ता विशेष गीतको महत्वपूर्ण भूमिका हुने मात्र आफूलाई थाहा भएको बताएकी छिन् । यस्ता गीतलाई कतिपयले बेतुकको बताउने गरेकोमा उनी रुष्ट छिन् ।
सबै गीत उत्तिकै महत्वपूर्ण हुने बुझाइ उनको छ । रइसमा एउटा गीतमा भए पनि शाहरुखसँग अभिनय गर्न पाएकोमा आफ्नो सपना पूरा भएको ठम्याइ उनको छ । शाहरुखसँग नृत्य गर्दाको पल निकै सान्दार भएको अनुभव उनको छ ।