Ultimate magazine theme for WordPress.

शनिबार रातिदेखि भारतबाट ४० मेगावाट बिजुली आयात हुने

48

काठमाडौं,पुष १५ :शनिबार राति १२ बजेदेखि भारतबाट थप ४० बिजुली आयात हुँदैछ । मुलुकलाई लोडसेडिङमुक्त बनाउन नेपाल विद्युत प्राधिकरणले थालेको भारतबाट थप बिजुली ल्याउन लागेको हो ।
भारतको मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयात हुन लागेको हो । यो बिजुली थप भएपछि भारतबाट विद्युत आयात बढेर ३५५ मेगावाट पुग्नेछ ।

हाल भारतबाट ३१५ मेगावाट हाराहारीमा बिजुली आयात भइरहेको छ । लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको छ ।
नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट थप बिजुली आयात गर्न लागेको हो । जलप्रवाह कम भएपछि कालिगण्डकी, मध्यमर्स्याङ्दी , मर्स्याङ्दी र खिम्तीलगायत ठुला आयोजनाबाट विद्युत उत्पादन आधा घटेको छ ।
अघिल्लो साता थप विद्युत आयात गर्ने विषयमा दुई मुलुकका सरकारी संस्थाबीच भारतको नयाँदिल्लीमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको छ ।

अन्तरदेशीय प्रसारणलाइन अन्तर्गत भारतको मुज्जफपुरमा थप १ सय एमबीएको ट्रान्सफर्मर राख्ने काम सम्पन्न भएपछि विद्युत प्राधिकरण र भारतको एनभीभीएन विद्युत् व्यापार निगमबीच नेपालमा थप बिजुली आयातका लागि पीपीए भएको छ  ।
पीपीएअनुसार अन्तरदेशीय प्रसारणलाइनबाट जनवरीमा थप ४० र हालको ८० समेत गरी सो प्रसारणलाइनबाट १२० मेगावाट बिजुली आयात हुनेछ । यस्तै थप ४० गरी फेब्रुअरीदेखि अन्तरदेशीय लाइनबाट १६० मेगावाट बिजुली आयात हुनेछ  ।
भारतको पावर ग्रीड कर्पोरेशनले मुज्जफपुरमा थप १ सय एमबिए क्षमताको ट्रान्सफर्मर जडान सम्पन्न गरेपछि प्राधिकरण र एनभीभीएनबीच पीपीए भएको हो ।

जनवरीदेखि आउदो मेसम्म ५ महिनाका लागि प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३ रुपैयाँ ६० पैसा भारु) मा पीपीए भएको छ ।
यस्तै अन्य प्रसारणलाइन निर्माण र स्तरोन्नतिको काम भइरहेकाले सम्पन्न भएपछि मात्र थप बिजुली आयातका लागि पीपीए हुनेछ । जसअनुसार कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारणलाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयातका लागि पीपीए हुने प्राधिकरणले जनाएको छ । कटैया–कुसाहबाट हाल १३० मेगावाटसम्म आयात भइरहेकोमा क्षमता बढाएपछि थप ५० र परवानीपुर–रक्सौलबाट थप ५० मेगावाट बिजुली आयात हुँदैछ ।
अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.