Ultimate magazine theme for WordPress.

लोकगायक झलकमानको आरबाजा

110

सबै बाटाहरु मृत्युतिर नै उन्मुख हुन्छन्, जीवन उनीहरुसँगै नांगो खुट्टा हिँडिरहेको हुन्छ। पाकिस्तानी लेखिका नूर उल हुदा शाह

आर्यघाटभन्दा पर बाटो रहेनछ। पोखराको बाटुलेचौर हुँदै काठमाडौँसम्म त बाटैबाटा थिए। आर्यघाटको बिसौनीमा पुगेको छ। झलकलीलाको अध्याय सकिएको छ। ६८ वर्षको उमेरमा वरण गरेको मृत्यु अस्वभाविक हुँदै होइन। सिगरेटको धुवाँको आड र रक्सीको झोलको भरोसाले दिएको उपहार असामयिक भन्न मिल्ने छैन। मृत्युले सम्मान गरेको उनलाई। अब मृत्युलाई दोष दिनुको अर्थ छैन। घृणा गर्नु पनि बेकार छ।

किर्तिपुरकी मंगलमाया मात्र विधवा भएकी छैनन्, फेरि एकपटक देश विधवा भएको छ। झलकविहीन देशलाई सधवा भन्ने तागत हामीसँग छैन। आरबाजा टुहुरो भएको छ। झलकमानको अभावमा थन्किन लागेको चारतथारे आरबाजाले म्युजियमकै शोभा बढाउनेछ। गितारको जस्तो आवाज दिने आरबाजा झलकमानहरुको पुख्र्यौली नासो हो। सारङ्गीभन्दा पुरानो। सारङ्गी बिस्तारै बिरानो बन्दैछ। झलकमानहरुको चिनारी एकादेशको कथामा लुक्दैछ।

धौबीचौरका सङ्गीतविद् रामशरण दर्नाल अहले ओस्लो विश्वविद्यालयका प्राध्यापक हान्स वेस्ट्रेसनको ‘द गाइने अफ नेपाल’ का पानामा लोकगायनका चम्किला सिक्का झलकमानलाई खोजिरहेका छन्। त्यसको पातोमा आरबाजा बजाउँदै गरेका झलकमानको तस्वीरबाट तुष्टि लिने कसरत छ उनको। रामशरणलाई थाहा छ, झलकमानसँगै सती गयो कर्खा। श्रुति परम्परामा मौखिक इतिहास सुनाउने गन्धर्वहरुको उचाइ हेर्ने कोही छैन। सामवेदीका सन्तान गन्धर्वले गुफामय इतिहासको तिर्खा मेटाइरहेका छन्। अब कण्ठस्थ इतिहास गायक छैन।

बाटुलेचौरका जीतबहादुर, बिर्खबहादुर र बखते गन्धर्वसहित झलकमानलाई उपत्यकाको प्रवेशमार्ग दिने गायक धर्मराज थापा हुन्। झलकमानलाई रेडियोमा स्थायी जागिर दिने पनि उनै हुन्। यद्यपि, अरुका संकलनलाई आफ्नो भन्दै प्रचार गरेको आरोपमा उनले सफाइ लिएका छैनन्। कहीँ नाम, कहीँ बदनाम। झलकमानको सुरुकै गीत ‘हे बरै, आमाले सोध्लिन् …’ ले अनन्त उमेर पायो। झलकमान र जीतबहादुर कर्खा गाउने जेठा कलाकार बने।
झलकमानले यस गीतको पृष्ठभूमि रणमैदानमा ढलेको पोखरेली गुरुङ लाहुरेको दुःखान्त कहानी भनेका छन्। ‘त्यो पनि होला तर यो रेखेमान सिंहको चाँचरीसँग ठ्याक्कै मिल्छ’ सङ्गीतविद् रामशरण भन्छन्– ‘त्यस्तै झलकमानकै बाबु दुर्गाबहादुरको करुण कर्खा सरुमै रानी र मन कोइलासँग मिल्दोजुल्दो छ।’ अन्ततः यो पत्रसाहित्यकै उपलब्धि हो, गद्य भाषालाई लयमा ढालिएको लोकगीत। लोकगीतको आदिमाता निर्वाह गरेको छ यसले। सैनिक वेदना, बाबुआमा, छोराछोरी, स्वास्नी, दाजुभाइ, भाउजुबुहारी, नातागोतालाई मर्मस्पर्शी सन्देश छताछुल्ल पोखिएको छ। त्यसो त लाहुरेसम्बन्धी गीत गाउने झलकमान पहिलो होइनन्, ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको’ बोलको गीत मास्टर मित्रसेनले २००७ सालअघि नै गाएका हुन्।
लाहुरे बन्नु गरिबी मात्र नभएर संस्कार बनिसकेको छ हाम्रो। बलिया छोरालाई भरिया या लाहुरे बनाउने र राम्री छोरीलाई वेश्या बनाउन हामीलाई कसैले उछिनेको छैन। फोकल्याण्ड, कारगिल, तोराबोरा, कुवेत, जताततैको युद्धमा नेपाल दुखेको छ। अहिले त देशभित्रै देश दुख्न थालेको छ। जित्दैछ भनेको एउटा लाहुरे मर्छ। हरेक युद्धमा जित्छ एउटा, हार्छ अर्कै, सहिद हुने नेपाली लाहुरे।
लाहुरे बन्ने संस्कार त अब कहाँसम्म पुग्यो भने फित्ताको सामना नगरी खाडी प्रदेशमा नवलाहुरे हुने भीड थाम्न देश सक्दैन। झलकमानले २ सय ५० भन्दा बढी कर्खा र ख्याली छाडेका रहेछन्। मुस्किलले दर्जन गीत बजाउँछ रेडियो। रेडियोको अर्काइभमा रहेको डाँफे र मुरलीको एकघण्टे चाँचरी गाथा पनि उनको थप चिनारी हो। झाँझरे बुढोले मुरली चरीलाई रुवाइरुवाई डाँफे चरो पोली खाएको मर्मस्पर्शी कथामा झलकमानको पाहुर मुटु नै चिर्ने खालको छ। डाँफे र मुरली चरीको वार्ताबाट निर्मम मान्छेको चित्र दिएको छ।

get_img-1
लोकगीत संकलनमा पनि अब्बल छन् झलकमान। यसै सिलसिलामा उनले लमजुङ, बाग्लुङदेखि झापासम्म चहारेका छन्। झलकमानको संकलनमा प्रेमध्वज प्रधान, कुमार बस्नेत, किरण प्रधान, ज्ञानु राणालगायत कलाकारले गाएका छन्। प्रेमध्वजको सदाबहार गीत ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो, मगमग चल्यो बासना’ झलकमानकै संकलन हो, साथै विदुर खड्का, चन्द्रकला शाहको संकलनमा उनले गाएका छन्। ‘खायो बरै खसीले डाली नुगाई घाँस, तानसेन घमाइलो,’ ‘बाला जोवन खेलेर गयो राधा पियारीको,’ ‘हे चरी चाँचरी’ उनका प्रसिद्ध लोकथुंगा हुन्। मनको बाँध, मायापिरती र तृष्णा चलचित्रमा पनि उनको गम्भीर गायकी पुरस्कृत भएको छ। ‘हे बरै’ उनको एकमात्र साङ्गीतिक एल्बम हो।

१९९२ वैशाख १२ गते कालीखोला किनारको एउटा गरिब गन्धर्व परिवारमा झङीलालको रुपमा जन्मे झलकमान। छोरा कर्णबहादुर पोखराको दोहोरी रेस्टुरेन्टमा गाँउदैछन्। पृथ्वीनारायण शाहको कर्खा गायक लालबहादुर उनकै भाइ हुन्। उनको पनि भौतिक उपस्थिति अब छैन। २०३२ मा भैरव नृत्य दलमार्फत उनले पश्चिम जर्मनी, बेल्जियम, युगोस्लाभिया, फ्रान्स, स्वीट्जरल्याण्ड र भारतको भ्रमण गरे। गायक तीर्थ गन्धर्व लोकगीतको परिमार्जन नगर्ने झलकमानलाई सम्झिरहेका छन्। अर्का गीताङ्गे गइसकेका झलकमानमा रचनाकारको नजिकको छवि भेटिरहेका छन्। सँस्कृतिकर्मी दाहाल यज्ञनिधिचाहिँ साँस्कृतिक समाजवादविहीन देशमा झलकमानहरुको नियतिलाई थक्कथक्क मानिरहेका छन्।

माछाले पानी धमिलो पार्दैन। एकताका बाटुलेचौरका साथीभाइसित गीत गाउँदै गाउँघर डुल्थे झलकमान। जंगबहादुर गन्धर्वका अनुसार उकालो बाटोका एउटै घर पनि गीत गाउन दौडिन्थे, भोकभोकै सिस्नु खाएर पनि झाँक्री कामेको, बिहेमा दुलही रोएको र कुखुरा बासेको सुनाएर जनतालाई फुरुक्क पार्थे। झलकमानको जमाना कस्तो थियो भने, सारंगी बजाउन नजान्नेलाई छोरी दिइदैँनथ्यो। सारंगी बोक्नै लाज मान्ने नवयुवकप्रति पनि उनको गुनासो थिएन। उनी जनताको रुचि बुझ्थे। पछिल्लो समय नवोदित पपसङ्गीतमा सारंगीको धुन हाल्ने रहर पनि थियो उनमा। उनले आफ्नै आँखाले देखे, हिमाल, पहाड, जताततै रेडियो र क्यासेट। हेलम्बुमाथि डिस्को। बारपाकमा पप, नाम्चेमा र्‍याप। नवसङ्गीतको दबावमा झलकमान बबुरो न थिए।

धर्मराजले दिएको बाटोमा आजीवन हिँडिरहे झलकमान। रेडियो नेपालको सङ्गीत शाखामा पाँचौँ तहको सारंगीवादक रहे। रेडियोको जागिरेलाई बाहिर काम गर्ने अनुमति थिएन, तलबबाट गुजारा चल्न सकस भयो। नेपाली जीवन, त्यसमाथि गन्धर्व। आश्रितको संख्या बढ्यो। दुई छोरा र पाँच छोरी। सबैको जिम्मा काँधमा बोकेर हिँड्नुपरेकाले जीवन अत्यन्त भारी थियो। अझ ६ वर्षसम्म दमले थिल्थिलो पा¥यो उनलाई। उनले अन्तर्वार्तामा भनेका छन्, ‘बुढो भइयो, मनभरी दुःखैदुःख छन्।’

पहिली पत्नी कलावतीको निधनपछि मंगलमाया श्रेष्ठसँग दोस्रो बिहे गरेका हुन् उनले। अस्वस्थ अवस्थामा रेडियोले उनलाई महिनाको एक दिन हाजिर गरे पुग्ने व्यवस्था मिलाएर गुनै ग¥यो। विदेशमा उपचार गराउने विषय भने उप्काउन पनि डर मान्यो। उनले इन्द्रराज्यलक्ष्मी पुरस्कार, गोरखा दक्षिणबाहु (चौथो) लगायत फुटकर पुरस्कार पाए। त्यो कलावती र मंगलमायाले दिएको सुश्रुषाजति त थिएन तर रोदीको नर्क बगाउन थोरै वर्तनको बत्ती र गिदाङ्गेका लागि सल्काएको सलेदो पक्कै थियो।

पछिल्लो समय, पूर्वलाहुरेको सँस्था ब्रिटिस गोरखा अध्ययन अनुसन्धान केन्द्र नेपालद्वारा गत भदौमा झलकमानलाई अर्पित अभिनन्दन लेखोट ‘जदौ’ दाहालले तयार पारेका हुन्। यसरी दाहाल यज्ञनिधिले भलकमानलाई जदौ यात्रामा सामेल गराएका छन्। मंगलमगानका अभियन्तालाई गरिएको स्वदेशी अभिनन्दन थियो त्यो, बेतको सिंहासनमा सारंगी राखेर उनलाई किराँती फेटा, मगरको खादा र भादगाउँले टोपी उपहार दिइएको थियो।

अभिनन्दन लेखोट नौलो स्वाद थियो। तीनतारे सारंगीबाट मानविकी कलालाई फूलपाती। सुनमती आमाको कोख र दुर्गाबहादुर बाबुको काखप्रति वन्दना। ‘विदेशको रक्षा खातिर प्राणाघात गर्न बाध्य सैनिकका वेदनामाथि तपाईंको कण्ठको ललितगानले हाम्रा आँसु बर्साउन मितको काम गरेको छ,’ लेखोटको अंश।

जातीय विभेदका कारण सम्माननीय कलाकार चाहिँ हुन सकेका थिएनन् झलकमान। पढालिखा थिएनन्। असजिलो प्रश्नको सजिलो जवाफ दिन्थे। वास्तवमा झलकमान जनताका कलाकार रहेछन्। उनको शवयात्रामा सर्वसाधारणकै लस्कर थियो। तिनैको माया, फूल र आँसु थियो। थोत्रो ट्रकमा राखिएको उनको शव। चुनदाम उठाएर दाहसँस्कारका लागि दाउरा पनि जनताले नै जुटाए। यो झलकमानलाई जनताले गरेको सम्मान हो।

अन्ततः छुवाछुत बन्द गराउने पात्र पनि बने झलकमान। आर्यघाटमा सजिलै प्रवेश मिल्यो। अन्तिम सँस्कारमा बाहुनको प्रयोग भयो। बिडम्बना चाहिँ जसले आजीवन मंगलगान दिइरह्यो, उसैको मृत्युमा सारंगी बजेन। राष्ट्रिय शोक त परै जाओस्। एक पानाको शोक विज्ञप्ति सरकारले दिएन। मानसिक रुपमा समेत गरिब सँस्कार रहेछ हाम्रो। सम्वेदना र कलाको पटक्कै परख छैन।

(साभारः ‘जनताका लोकगायक झलकमान गन्धर्व’ पुस्तकबाट)

Leave A Reply

Your email address will not be published.