Ultimate magazine theme for WordPress.

भारतीय एसएसबीको गोलीबाट मृतक गौतम सहिद घोषित

93

काठमाडौं,फागुन २७: भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट ज्यान गुमाएका कञ्चनपुरका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ। कल्भर्ट बनाउने सामान्य विवादमा आफ्नै भुमि नेपालभित्र भारतीय सिमा सुरक्षा बल (एसएसबी) बाट गौतम मारिदा पनि सरकार चुप बसेको भन्दै प्रमुख विपक्षी एमाले लगायत नागरिक समाजका विभिन्न क्षेत्रबाट आलोचना भएपछि सरकारले गौतमलाई सहिद घोषणा गरेको हो।

संसदको शुक्रबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले गौतमलाई सहिद घोषणा गरिएको र दस लाख राहत स्वरुप उनका परिवारलाई उपलब्ध गराउने जानकारी दिए। त्यसअघि एमाले उपाध्यक्ष भीम रावल,कांग्रेसका तारिणीदत्त चटौत, एमाले सांसद प्रेम आले लगायतले कञ्चनपुर घटनाबारे सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए।

उपप्रधानमन्त्री निधिले गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र उनका सन्ततीको निःशुल्क पठन पाठनको व्यवस्था सरकारले गर्ने निर्णय भएको पनि संसदलाई जानकारी दिए।

कञ्चनपुर जिल्लाको दक्षिणी सीमाना नजिक आनन्दबजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतबीच दुई देशका सीमाना अधिकारीबीच फागुन १० गतेको सहमति विपरीत भारतिय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दाेष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले संसदलाई जानकारी दिए।

उक्त घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी सरकारको धारणा स्पष्ट पारिएको र भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय काम भएको गृहमन्त्री निधिले बताए। कञ्चनपुर घटनाबारे आफूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको पनि निधिले जानकारी दिए।

यस्तै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोर्याउन आग्रह गरेको र काठमाडौंस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराइसकेको पनि मन्त्री निधिले जानकारी दिए।

त्यसअघि प्रमुख विपक्षी दल एमाले उपाध्यक्ष भीम रावलले विदेशी सुरक्षाकर्मीबाट आफ्नै भूमिमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्दा पनि सरकार निर्लज्ज भएको भन्दै आक्रोश व्यक्त गरे।

‘सरकारको लम्पसारवादी नीतिले सम्पूर्ण नागरिकलाई दुःखित बनाएको छ,’ रावलले भने, ‘यो घटनामा भारतले क्षतिपूर्ति दिनुपर्छ भनेर सरकार किन नबोलेको ?’ विदेशी दुतावासबाट वक्तव्य दिदा ‘हो कि क्या हो’ भनेर केही दल र नेताहरु त्यसको पछि लाग्दा नेपालीको मन छियाछिया हुने रावलले बताए। नेपाली सीमामा सुरक्षा दिन नसकेको र विदेशी सुरक्षाकर्मीले नागरिकमाथि आक्रमण गर्दा सामान्य वक्तव्य दिएर सरकारले लाचार प्रदर्शन गरेको रावलले आरोप लगाए। कञ्चनपुर घटना भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको रावलले बताए। आफ्नो पार्टीको शान्तिपूर्ण मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले हातहतियार सहित आक्रमण गर्दा पनि सरकारले कुनै कारवाही नगरेको भन्दै रावलले आक्रोश पोखे।

माओवादी केन्द्र का अग्नि सापकोटाले राष्ट्रिय अस्मिताको रक्षाका लागि सरकार पछि हट्न नहुने बताए। कांग्रेसका तारिणीदत्त चटौतले कञ्चनपुर घटनामा मारिएका गौतमलाई सहिद घोषणा गरि सिमामा बस्ने नेपालीलाई सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरे। एमालेका प्रेम आलेले कन्चनपुर घटनाको छानविन समिति बनाएर दोषीमाथि कारवाही गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले सीमानामा बस्ने नागरिक हरेक दिन भारतीय सुरक्षाकर्मीबाट प्रताडित हुनु परेको बताईन। मधेसी मार्चाका सांसदहरुले भने सप्तरी घटनाको विरोध गर्दै संसदमा नारावाजी गरेका थिए। बैठकको प्रारम्भमा संघीय समाजवादी फोरमका अशोक राईले फागुन २३ गते सप्तरीमा भएको झडपमा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएको भन्दै उक्त घटनामा सुरक्षाकर्मीले कम्बर र टाउको माथि गोली प्रहार गरेर अन्तर्राष्ट्रिय मानवअधिकारको उलङ्घन गरेको बताए। राईले कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बलबाट गोली प्रहार नभएको भन्ने भारतीय दुतावासबाट वक्तव्य आएको बताए।

श्रोत :अन्नपुर्ण पोस्ट

Leave A Reply

Your email address will not be published.