Ultimate magazine theme for WordPress.

चुनाव अघि नै नयाँ शक्ति र संघीय समाजवादीबीच एकता !

98

काठमाडौं , चैत्र १७ : नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच स्थानीय चुनाव अघि नै पार्टी एकता गर्ने पहल सुरु भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि लगातार सम्वाद भइरहेको छ । नयाँ शक्तिको वार्ता टोलीका संयोजक रामचन्द्र झाले पार्टीको बैठकमा चुनाव अघि नै पार्टी एकता हुने संकेत दिएका छन् ।

पार्टीको केन्द्रीय परिषद्को बैठकमा झाले वैशाख १ गते पार्टी कार्याकर्तालाई नयाँ वर्षको उपहारका रुपमा संघीय समाजवादीसँग पार्टी एकता हुने बताए । बैठकमा सहभागी एक नेताले भने, ‘उहाँ निकै उत्साहित देखिनु भएको थियो । ठूलो ध्रुविकरण (पार्टी एकता) हुन्छ भन्नु भएको छ ।’

झाले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् । संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे वार्ता गर्न नयाँ शक्तिले झाको नेतृत्वमा गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटा रहेको वार्ता टोली नै बनाएको छ ।

नयाँ शक्तिका नेता झाले वैशाख १ भित्र पार्टी एकता गर्ने योजना रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘कुराकानी भइरहेको छ, केही विषय टुंगिन बाँकी छ । सामान्यतया वैशाख १ एकता गर्ने भन्ने छ ।’

तर, नयाँ शक्तिका नेताहरुले पनि वैशाख १ मै एकता हुनेमा शंका व्यक्त गरेका छन् ।

जाडो भयो भन्दैमा राति घाम लाग्दैन

संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि नयाँ शक्तिसँग एकता वार्ता भइरहेको स्वीकार गरेका छन् । ‘

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नयाँ शक्ति निकटतम शक्तिमा पर्ने र आफ्नो पार्टी पनि एकीकरणको पक्षमा रहेको बताए । तर, दुई पार्टीबीच एकता हुनु अघिका धेरै प्रक्रियाहरु पुरा हुन बाँकी रहेको भन्दै उनले भने, ‘जाडो लाग्यो भन्दैमा राति घाम लाग्दैन । त्यसैले अहिले नै फलानो मितिमा पार्टी एकता हुने भयो भन्ने कुरामा कुनै सत्यता छैन ।’

२०७३ चैत १७ गते १२:४१ मा प्रकाशित

Leave A Reply

Your email address will not be published.